मिलानमाथि लिभरपुलको सनसनीपुर्ण जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगमा बुधबार राती दुई मिलान क्लब इन्टर र एसीका लागि खराब रह्यो । इन्टरले घरेलु मैदान मै रियल मेड्रिडसँग हार बेहोर्दा समूह बीमा रहेको एसी मिलानले लिभरपुलसँग निराशाजनक हार बेहोर्न पुग्यो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा एसी मिलान ३–२ ले पराजित हुन पुग्यो । खेलको नवौं मिनटमै फिकायो टोमोरीले आत्मघाती गोल गर्दा मिलान खेलमा पछि परेको थियो । यद्यपि ४२औं मिनटमा आन्टे रेबिकले गोल गर्दै मिलानलाई खेलमा फर्काए ।

त्यसको दुई मिनट लगतै ब्राहिम डियाजले मिलानका लागि दोस्रो गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफसम्म २–१ को स्थितिमा पुर्याए । यद्यपि दोस्रो हाफ शुरु भएको चौथो मिनट मै मोहमद सलाहले गोल फर्काउँदै लिभरपुललाई २–२ को स्थितिमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा लिभरपुलका लागि निर्णायक गोल भने ६९औं मिनटमा कप्तान जोर्डन हेन्डरसनले गरे । जुन गोल खेलको अन्तिम र निर्णायक बन्यो ।

त्यस्तै समूह बी मै रहेका अन्य दुई क्लब एटलेटिको मेड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेल्दै अंक बाँडे । पोर्टोले अब २८ सेप्टेम्बरका दिन लिभरपुलसँग खेल्नेछ भने सोही दिन एटलेटिको र एसी मिलान पनि आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...