रोनाल्डोको गोलले पनि जित्न सकेन म्यानचेष्टर (भिडियोसहित)

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु हुँदा इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडले भने खराब शुरुवात गरेको छ । समूह एफमा रहेको म्यानचेष्टरले मंगलबार राती आफ्नो पहिलो खेलमा स्वीस क्लब योङ ब्वाइजसँग २–१ को स्तब्धपुर्ण हार बेहोर्न पुग्यो ।

योङ ब्वाईजको घरेलु मैदानमा शुरुवाती अग्रता लिएर पनि म्यानचेष्टरले आफूलाई अन्तिम समयतिर सम्हाल्न सकेन । खेलको १३औं मिनटमा पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टरलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफ मै म्यानचेष्टरले अर्को झट्का लाग्न पुग्यो ।

३५औं मिनटमा म्यानचेष्टरका आरोन वान भिसाकाले विपक्षी खेलाडीलाई फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए । पहिलो हाफबाटै दश खेलाडीमा खुम्चिएका म्यानचेष्टरले त्यसपछिको खेलअवधि भर रक्षात्मक खेल्नुपर्यो ।

त्यसको फाईदा भने विपक्षी टोली योङ ब्वाईजले उठायो । ६६औं मिनटमा मुमी गामेलुले ओल्ड ब्वाईजका लागि बराबरी गोल फर्काए । खेल प्रतिस्पर्धात्मक बराबरीतर्फ लम्किरहेका बेला इन्जुरी समयको ९०+५औं मिनटमा थियोसन पेटोकले दोस्रो तथा निर्णायक गोल थप्दै म्यानचेष्टरलाई स्तब्ध तुल्याएका थिए ।

मंगलबार नै भएको समूह एफतर्फको अर्को खेलमा भिल्लारियल र एटलान्टाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । मंगलबारको नतिजापछि १ खेलबाट ३ अंक जोडेको योङ ब्वाइज शिर्ष स्थानमा छ । १–१ अंक जोडेका एटलान्टा र भिल्लारियल दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन युनाइटेड पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...