बेन्जेमाको ह्याट्रिक अनि बर्नबेयुमा रियलको सुखद फर्काई

एजेन्सी । लामो समयदेखि स्तरोन्नति र मर्मत सम्भार गरिएको रियल मेड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेयु अन्ततः स्पेनिस महारथीका लागि उपयोग गर्न लायक बन्यो । ५६० दिन पछि बर्नबेयु फर्किएको रियलले घरेलु मैदानको त्यो फर्काईलाई थप शानदार पनि बनायो ।

स्पेनिस ला लिगातर्फ आइतबार सम्पन्न खेलमा रियलले सेल्टा भिगोलाई उत्कृष्ट पूनःरागमनका साथ ५–२ ले हराउँदा फ्रेन्च स्टार करिम बेन्जेमाको नाममा ह्याट्रिक समेत रहयो । रियलले खेलमा दुईपटक पछि परेर पनि नतिजा आफ्नो पक्षमा सुल्टाएको थियो ।

खेल शुरु भएको चौथो मिनट मै मिना लोरेन्जोले सेल्टाका लागि सनसनीपुर्ण गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर बेन्जेमाले २४औं मिनटमा रियलका लागि पहिलो बराबरी गोल फर्काउन सफल भए । यद्यपि ३१औं मिनटमा फ्रान्को कार्वीको गोलबाट सेल्टाले दोस्रोपटक अग्रता लियो ।

दोस्रो गोल खाएपछि आक्रमक बनेको रियलले त्यसपछि भने एकतर्फी नतिजा आफ्नो पक्षमा पार्यो । ४६औं मिनटमा बेन्जेमाले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–२ को स्थितिमा ल्याए । ५४औं मिनटमा भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल थपे भने इडन हजार्डको स्थानमा मैदान प्रवेश गरेका युवा स्टार इडुआर्डो कामाविंगाले ७२औं मिनटमा चौथो गोल थपे । यसै समर रियलमा आवद्ध भएका यी फ्रेन्च खेलाडीका लागि त्यो डेब्यु गोल पनि थियो ।

त्यस्तै ८७औं मिनटमा रियलले पेनाल्टीको अवसर पायो । जसलाई बेन्जेमाले कुनै गल्ती नगरी गोलमा परिणत गरे भने आफ्नो सिजनको पहिलो ह्याट्रिक समेत पूरा गरे ।

यो जितसँगै ४ खेलबाट १० अंक जोडेको रियल शिर्ष स्थानमा छ । समान अंक भए तापनि भ्यालेन्सिया दोस्रो स्थानमा छ । भ्यालेन्सियाले आइतबार नै भएको अर्को खेलमा ओसासुनालाई ४–१ ले हराएको थियो । त्यस्तै रियलसँग पराजित सेल्टा भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...