आर्सनललाई पहिलो जित र पहिलो अंकको स्वाद

एजेन्सी । नयाँ सिजनको शुरुवातबाटै खराब लयमा देखिएको लण्डन क्लब आर्सनलले इङलिस प्रिमियर लिगमा शनिबार पहिलो अंक र पहिलो जित हात पारेको छ ।

घरेलु मैदान इमिरेटस स्टेडियममा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई १–० को झिनो अन्तरले हरायो । आर्सनलको जितमा खेलको ६६औं मिनटमा गाबोन स्टार पिएरे एमरि औवमेयाङले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो जितसँगै आर्सनलका म्यानेजर मिकेल आर्टेटामाथिको दबाब पनि केही हलुका भएको अनुमान गरिएको छ । साथै लिगमा पहिलो महत्वपुर्ण ३ अंक जोडेको आर्सनलले ४ खेलबाट ३ अंक जोड्दै १६औं स्थानमा पुगेको छ । पराजित नर्विच भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...