रोनाल्डोको डबल स्ट्राईकमा म्यानचेष्टरको उत्कृष्ट जित

एजेन्सी । दशक पछि प्रिमियर लिगमा फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि उत्कृष्ट डेब्यु गरेका छन् । शनिबार न्युक्यासल युनाइटेडलाई म्यानचेष्टरले ४–१ को अन्तरले हराउँदा पोर्चुगिज स्टारको नाममा दुई गोल रह्यो ।

ओल्ड ट्राफोर्ड पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि ५६औं मिनटमा जेभियर मेनिकलोले न्युक्यासलका लागि बराबरी गोल फर्काए । तर पाहुना टोलीले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन ।

त्यसको चार मिनट लगतै रोनाल्डोले फेरि म्यानचेष्टरका लागि दोस्रो गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए । ८०औं मिनटमा ब्रुनो फर्नान्डेसले म्यानचेष्टरको त्यो अग्रता दोब्बर पुर्याए । त्यस्तै फर्नान्डेस कै स्थानमा मैदान प्रवेश गरेका जेसे लिंगार्डले खेलको अन्तिमतिर इन्जुरी समयमा चौथो गोल थप्दै रेड डेविल्सको उत्कृष्ट जित पक्का गरे ।

यो जितसँगै ४ खेलबाट १० अंक जोडेको म्यानचेष्टर युनाइटेड शिर्ष स्थानमा छ । पराजित न्युक्यासल भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...