स्पेनको लय जारी

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा पुर्वविजेता स्पेनले कोसोभोलाई उसकै घरमा २–० ले हराएको छ । युरोपियन छनौटतर्फ केही दिन अघि मात्र जर्जियालाई ४–० ले हराएको स्पेनले समूह बीतर्फको आफ्नो छैटौं खेलमा कोसोभोलाई पराजित गरेको हो ।

प्रिस्टिनामा सम्पन्न खेलमा स्पेनका लागि ३२औं मिनटमा पाब्लो फोर्नल्सले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने खेलको अन्तिमतिर ९०औं मिनटमा फेरान टोरेसले गर्दै पाहुना टोलीको महत्वपुर्ण जित सुनिश्चित गरेका थिए ।

बुधबार नै भएको समूह बीतर्फको अर्को खेलमा ग्रीसले स्वीडेनमाथि २–१ को सनसनीपुर्ण जित निकाल्यो । बुधबारको खेलहरुको नतिजापछि ६ खेलबाट १३ अंक जोडेको स्पेन शिर्ष स्थानमा छ । ४ खेलबाट ९ अंक जोडेको स्वीडेन दोस्रो स्थानमा छ भने ६ अंकका साथ ग्रीस तेस्रो स्थानमा छ ।

त्यस्तै समान ५–५ खेलबाट ४ र १ अंक जोडेका कोसोभो र जर्जिया क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...