इटालीको शानदार जित (भिडियोसहित)

एजेन्सी । चारपल्टको विश्वविजेता इटालीले फिफा विश्वकप छनौटतर्फ बुधबार राती शानदार जित हात पारेको छ । समूह सीमा रहेको इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित निकालेको हो ।

आफ्नो घरेलु मैदानमा खेलेको इटालीका मोइसे किनको नाममा दुई गोल रह्यो । किनले ११औं मिनटमा पहिलो गोल गरे । लगतै १४औं मिनटमा लिथुआनियाका इडगारस उटकुसले आत्मघाती गोल गर्दा इटालीले खेलमा आफ्नो अग्रता दोब्बर पार्न सफल भएको थियो ।

घरेलु टोली त्यतिमै रोकिएन । खेलमा एकपक्षीय जित निकालेको इटालीका लागि २४औं मिनटमा जियाकोमो रेस्पाडोरीले तेस्रो गोल थपे । लगतै २९औं मिनटमा किनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्न सफल भए ।

त्यस्तै थप एक गोल भने दोस्रो हाफतर्फ ५४औं मिनटमा जियोभानी डि लोरेन्जोले गर्दै इटालीको शानदार जित सुनिश्चित गरे । बुधबार नै भएको समूह सीतर्फको अर्को खेलमा उत्तरी आयरल्याण्ड र स्वीजरल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

बुधबारको नतिजापछि समुह सीमा ६ खेलबाट १४ अंक जोडेको इटाली शिर्ष स्थानमा छ । चार खेलबाट ८ अंक जोडेको स्वीजरल्याण्ड दोस्रो स्थानमा छ भने ५ अंक जोडेको उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा छ । त्यस्तै समान ५ अंक नै जोडेको बुल्गेरिया चौथो स्थानमा रहँदा अंकविहीन लिथुआनिया पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...