बेलको ह्याट्रिकमा वेल्सको दोस्रो जित (भिडियोसहित)

एजेन्सी । स्टार खेलाडी गारेथ बेलले ह्याट्रिक गरेपछि फिफा विश्वकपको युरोपियन छनौटतर्फ वेल्सले आइतबार दोस्रो जित हात पारेको छ । समूह ई मा रहेको वेल्सले बेलारुसलाई ३–२ ले हरायो ।

रुसको कजानमा सम्पन्न खेलमा वेल्सले खेल शुरु भएको छैटौ मिनटमै गोल गर्न सफल भएको थियो । वेल्सले पाएको पेनाल्टीलाई बेलले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

यद्यपि बेलारुसले पहिलो हाफतर्फ नै दुई मिनटको अन्तरालमा दुई गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । २९औं मिनटमा पाएको पेनाल्टीलाई भिटाली लिसाकोविचले गोलमा परिणत गर्दै बेलारुसलाई खेलमा फर्काएका थिए । त्यसको एक मिनट लगतै पावेल सेडकोले गोल गर्दै बेलारुसलाई खेलमा २–१ ले अग्रता दिलाए ।

तर बेलारुसले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । वेल्सका लागि नायक बनेका बेलले ६९औं मिनटमा फेरि पेनाल्टीबाट दोस्रो गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा ल्याए ।

खेलको निर्णायक गोल भने अन्तिमतिर इन्जुरी समयमा सम्पन्न भयो । अन्तिमतिर थपिएको ९०+३औं मिनटमा बेलले नै निर्णायक गोल गर्दै वेल्सलाई रोमाञ्चक जित दिलाए भने आफ्नो ह्याट्रिक समेत पूरा ।

यो जितसँगै समूह ईमा वेल्सको ३ खेलबाट ६ अंक भएको छ । पराजित बेलारुसको भने ४ खेलबाट ३ अंक छ । समान ४ खेलबाट १० र ७ अंक जोडेका बेल्जियम र चेक रिपब्लिक भने क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समूहको पुछारमा भने अंकविहीन इस्टोनिया छ ।


प्रतिक्रिया दिनुहोस

Loading...