बेल्जियमको शानदार जितमा लुकाकुको दुई गोल (भिडियोसहित)

एजेन्सी । स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरेको खेलमा बेल्जियमले विश्वकप छनौटतर्फ बिहीबार इस्टोनियालाई ५–२ ले हराएको छ ।

इस्टोनियाको घरेलु मैदानमा भएको खेलमा शुरुवाती अग्रता भने इस्टोनियाले नै लिएको थियो । खेल शुरु भएको दोस्रो मिनटमै मेटिस कायटले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए ।

तर २२औं मिनटमा हान्स भनाकिनले बेल्जियमका लागि बराबरी गोल फर्काउन सफल भए । त्यसपछि खेलमा बेल्जियम पूर्ण हावी देखियो । लुकाकुले २९ र ५२औं मिनटमा लगातार दुई गोल थपे ।

एक्सेल विटसेलले ६५औं मिनटमा बेल्जियमका लागि चौथो गोल थप्दा ७६औं मिनटमा थोमस फोकेटले पाँचौं गोल थपेर पाहुना टोलीको जित पक्का गरे । उता इस्टोनियाका लागि ८३औं मिनटमा इरिक सोर्गाले दोस्रो गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न अबेर भइसकेको थियो ।

बिहीबार नै भएको समूह ईतर्फको अर्को खेलमा चेक रिपब्लिकले बेलारुसमाथि १–० को जित निकाल्यो । बिहीबारको नतिजा पश्चात् । समूह ईमा रहेको बेल्जियम ४ खेलबाट १० अंकका साथ शिर्ष स्थानमा छ । ७ अंकका साथ चेक रिपब्लिक दोस्रो स्थानमा छ ।

३–३ अंक जोडेका वेल्स र बेलारुस भने क्रमशः तेस्रो र चौथो स्थानमा छ । वेल्सले २ खेल खेलेको छ भने बेलारुसले ३ खेल खेलेको छ । उता ३ खेलबाट अंकविहीन इस्टोनिया पुछारमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...