स्वीडेनसँग हार्यो स्पेन (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ दुई युरोपियन महारथी बीच भएको प्रतिस्पर्धात्मक भिडन्तमा पूर्व विजेता समेत रहेको स्पेनले स्वीडेनसँग २–१ को हार बेहोरेको छ ।

स्वीडेनको घरेलु मैदान फ्रेण्डस एरिनामा भएको खेलको पाँचौं मिनटमै कार्लोस सोलेरको गोलबाट स्पेनले अग्रता लिएको थियो । तर स्पेनिस टोलीले त्यो अग्रता एक मिनट पनि जोगाउन सकेन ।

त्यसको एक मिनट लगतै अलेक्जेन्डर इसाकले स्वीडेनका लागि बराबरी गोल फर्काए । दोस्रो गोल भने ५७औं मिनटमा भिक्टर क्लासेनले गर्दै घरेलु टोलीको रोमाञ्चक जित सुनिश्चित गरे ।

समूह बीतर्फ कै अर्को खेलमा कोसोभोले जर्जियालाई १–० ले हरायो । समूह बी मा ३ खेलबाट ९ अंकका साथ स्वीडेन शिर्ष स्थानमा छ । ४ खेलबाट ७ अंक जोडेको स्पेन दोस्रो स्थानमा रहँदा तीन खेलबाट ३ अंक जोडेको कोसोभो तेस्रो स्थानमा छ ।

त्यस्तै २ अंक जोडेको ग्रीस चौथो स्थानमा रहँदा एक अंकका साथ जर्जिया समूहको पुछारमा छ । यद्यपि ग्रीसले २ खेल मात्र खेलेको छ भने जर्जियाले चार खेल खेलिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...