हंगेरीको पोष्टमा इङल्याण्डको चार गोल (भिडियोसहित)

एजेन्सी । विश्वकप छनौटतर्फ अपराजित रहेको इङल्याण्डले बिहीबार राती पनि त्यो अपराजित यात्रालाई निरन्तरता दिएको छ । बुडापेस्टमा सम्पन्न समूह आईतर्फको खेलमा इङल्याण्डले घरेलु टोली हंगेरीमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

पुस्कास एरिनामा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्पन्न भए । ५५औं मिनटमा रहिम स्टर्लिङले इङलिस टोलीको गोलको खाता खोलेका थिए । लगतै ६३औं मिनटमा हेरि केनले त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफमा पुर्ण हावी देखिएको इङल्याण्डका लागि ६९औं मिनटमा डिफेन्डर ह्यारी म्याकगिरले तेस्रो गोल थपे ।

खेलमा इङलिस टोली त्यति मै रोकिएन । अन्तिमतिर ८७औं मिनटमा डिक्लन राइसले इङल्याण्डका लागि चौथो गोल गर्दै थ्री लायन्सको प्रभावशाली जित सुनिश्चित गरे ।

बिहीबार नै भएको समूह आईतर्फको अन्य खेलहरुमा एन्डोराले सान मारिनोलाई २–० ले हरायो भने पोल्याण्डले अल्बानियाको चुनौति ४–१ ले समाप्त पार्यो ।

समूह आईमा चार खेलबाट १२ अंक जोडेको इङल्याण्ड शिर्ष स्थानमा छ । ७–७ अंक जोडेका पोल्याण्ड र हंगेरी दोस्रो र तेस्रो स्थानमा छन् भने ६ अंक जोडेको अल्बानिया चौथो स्थानमा छ । ३ अंकका साथ एन्डोरा पाँचौं स्थानमा रहँदा सान मेरिनो अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...