विश्व विजेता फ्रान्सको बराबरी (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार राती बोस्निया एण्ड हर्जगोविनासँग १–१ गोलको बराबरी खेलेको छ । दोस्रो हाफमा दश खेलाडीमा खुम्चिएको फ्रान्सले पाहुना टोलीसँग बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो ।

फ्रेन्च शहर स्ट्रासबोर्गमा भएको खेलको ५१औं मिनटमा जुलेस कुन्डेले रातो कार्ड खाँदै छाडेपछि दोस्रो हाफको अधिकांश समय फ्रान्स दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि घरेलु टोलीले विपक्षीलाई त्यसको फाईदा उठाउन भने दिएन ।

खेलमा दुवैतर्फबाट भएका गोलहरु भने पहिलो हाफ मै सम्पन्न भएका थिए । ३६औं मिनटमा इडिन जेकोले बोस्नियालाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता पाहुना टोलीले केही बेर पनि कायम राख्न सकेन । गोल खाएको तीन मिनट लगतै फ्रान्सका लागि एन्टोइन ग्रीजम्यानले बराबरी गोल फर्काएका थिए ।

समूह डी कै अर्को खेलमा कजाखस्तान र युक्रेनले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । समूह डीमा ८ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । ४ अंकका साथ युक्रेन दोस्रो स्थानमा छ भने समान २–२ अंक जोडेका फिनल्याण्ड, बोस्निया र कजाखस्तान क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...