‘रेकर्ड ब्रेकर’ रोनाल्डो (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बुधबार राती अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने विश्व किर्तिमान भंग गर्न सफल भएका छन् ।

फिफा विश्वकप छनौर्टतर्फ आयर विरुद्ध दुई गोल गर्दै ३६ बर्षिय रोनाल्डोले इरानी लिजेण्ड अली दाईको किर्तिमान तोडेका हुन् । आयरल्याण्ड विरुद्धको त्यो दुई गोल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको ११०औं र १११औं गोल थियो ।

रोनाल्डोले यसअघि अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १०९ गोल गरेर लामो समय विश्व किर्तिमान बनाएका अली दाईको त्यो किर्तिमान गत बर्ष सम्पन्न युइएफए युरोतर्फ फ्रान्स विरुद्ध दुई गोल गर्दे बराबरी गरेका थिए ।

स्मरण रहोस, इरानी लिजेण्ड अली दाईले सन् १९९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १०९ गोल गरेर त्यो दुलर्भ विश्व किर्तिमान बनाएका थिए । जुन अब रोनाल्डोको नाममा रहने छ ।

अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने सक्रिय फुटबल खेलाडीको सूचीमा पनि रोनाल्डो अगाडी नै छन् । साथै रोनाल्डोले युरोपियन फुटबलतर्फ देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने स्पेनिस लिजेण्ड सर्जियो रेमोसको १८०औं खेलको किर्तिमान पनि बराबरी गरेका छन् ।

आयरल्याण्ड विरुद्ध निर्णायक बनेका रोनाल्डो

फिफा विश्वकपको युरोपियन छनौटतर्फ समूह ए मा रहेको पोर्चुगलले बुधबार राती आयरल्याण्ड विरुद्ध २–१ को जित निकाल्यो । पोर्चुगलको जितमा दुवै गोल रोनाल्डोले गर्दै निर्णायक भूमिका समेत खेले ।

खेलमा रोनाल्डोलाई ह्याट्रिक गर्ने अवसर पनि थियो । पहिलो हाफको १५औं मिनटमा पाएको पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार आयरल्याण्डका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।

पहिलो हाफ कै ४५औं मिनटमा आयरल्याण्डका लागि जोन इगनले गोल गरेपछि पाहुना टोलीले खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो । तर खेलको अन्तिमतिर रोनाल्डो नायक बने । उनले खेलको ८९औं मिनटमा पहिलो बराबरी गोल फर्काए भने इन्जुरी समयको ९०+६औं मिनटमा दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई अहम जित दिलाए ।

बुधबार समूह ए तर्फकै अर्को खेलमा लक्जेम्बर्गले अजरबैजानमाथि समान २–१ को जित निकाल्यो । छनौट प्रतियोगितातर्फ समूह ए मा पोर्चुगल अपराजित छ र १० अंकका साथ समूहको शिर्ष स्थानमा समेत छ । पोर्चुगलले आफ्नो आगामी खेल ७ सेप्टेम्बरका दिन अजरबैजानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...