टोटेनह्याम पुगे बार्सिलोनाका ब्राजिलियन डिफेन्डर

एजेन्सी । मंगलबार युरोपियन फुटबल मार्केटको ट्रान्सफर विन्डो अन्तिम दिनसम्म व्यस्त र चर्चामा रह्यो । त्यसै क्रममा इङलिस क्लब टोटेनह्याम हटसपरले बार्सिलोनाबाट स्टार ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्ध गर्न सफल भयो ।

स्रोतका अनुसार टोटेनह्यामले २२ बर्षिय डिफेन्डरका लागि बार्सिलोनालाई ३० मिलियन युरो बुझाएको छ । साथै इमर्सनले टोटेनह्यामसँग ५ बर्षका लागि सम्झौता गरेको स्रोतले जनाएको छ ।

पछिल्ला दुई सिजन लोनमा रियल बेटिसमा बिताएका इमर्सनले त्यसक्रममा बेटिसका लागि ७९ म्याच खेल्दै ५ गोल पनि गरेका थिए । यता टोटेनह्यामका आइभोरियन डिफेन्डर सर्जे औरिरले आपसी सहमतिमा क्लब छाडेपछि इमर्सनले उनकै स्थान लिने बताइएको छ ।

इमर्सनले गत जुलाईमा सम्पन्न कोपा अमेरिकामा ब्राजीललाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि ब्राजीलले फाइनलमा अर्जेन्टिनासँग ०–१ को हार बेहोर्न पुगेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...