मेड्रिड फर्किए ग्रीजम्यान

एजेन्सी । दुई बर्ष अघि मात्र एटलेटिको मेड्रिडबाट क्याटलन जायन्ट बार्सिलोनामा आवद्ध भएका स्टार फ्रेन्च फरवार्ड एन्टोइन ग्रीजम्यान एक बर्षे लामो लोन डीलमा फेरि एटलेटिको फर्किएका छन् ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाबाट यस सिजन लियोनल मेसीसहित बाहिरिने ११ खेलाडीहरुको सूचीमा ३० बर्षिय ग्रीजम्यान पनि सामेल भएका छन् । उनको स्थानान्तरण ट्रान्सफर विन्डोको अन्तिम दिन मंगलबार पूरा भएको थियो ।

स्मरणीय छ, अर्जेन्टिनी सुपरस्टार मेसीले पनि बार्सासँगको २१ बर्षे लामो सहकार्य टुंग्याउँदै हालै मात्र पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका थिए । उता रिपोर्टअनुसार एटलेटिकोले ग्रीजम्यानलाई बार्सासँगको सहमतिअनुसार पारिश्रमिक दिनेछ ।

सन् २०१९ मा १०७ मिलियन पाउण्डमा एटलेटिकोबाट बार्सिलोना पुगेका ग्रीजम्यानले बार्साका लागि १०२ म्याचमा ३५ गोल गर्न मात्र भ्याए । साथै क्लबका लागि एक मात्र कोपा डेल रे को उपाधि जिते । बार्सामा आवद्ध हुनु अघि भने ग्रीजम्यानले एटलेटिकोका लागि २५७ म्याचमा १३३ गोल समेत गरेका थिए ।

स्मरण रहोस, एटलेटिकोले गत सिजन मात्र बार्सिलोनाबाट लुइस सुआरेजलाई अनुबन्ध गरेको थियो । सुआरेज कै शानदार प्रदर्शनमा एटलेटिकोले गत सिजनको स्पेनिस ला लिगा उपाधि जित्न समेत सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...