“ओल्ड ट्राफोर्डको फर्काइ, फर्गुसनप्रति समर्पित”

एजेन्सी । “म्यानचेष्टर युनाइटेडप्रति मेरो कहिल्यै नटुंगिने असिमित माया, जुन मलाई चिन्ने सबैलाई थाहा छ ।” पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडसँगको आफ्नो दोस्रो स्पेलको स्थानान्तरण पूरा गरेपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

स्मरण रहोस, म्यानचेष्टरले मंगलबार ३६ बर्षिय रोनाल्डोसँगको स्थानान्तरण आधिकारिक रुपमै पूरा गरेको छ । यो स्थानान्तरणका लागि म्यानचेष्टरले युभेन्टसलाई १५ मिलियन युरो बुझाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युभेन्टसले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत रोनाल्डो क्लबसँग अलग भएको कुरा घोषणा गरेको थियो । स्रोतका अनुसार रोनाल्डोले म्यानचेष्टरसँग दुई बर्षको सम्झौता गरेका छन् । साथै त्यो सम्झौतामा दुवै पक्षबीच सो सम्झौता थप गर्ने विकल्प पनि छ ।

सन् २००९ मा म्यानचेष्टरबाट रियल मेड्रिड पुगेका रोनाल्डो करिब एक दशकपछि फेरि ओल्ड ट्राफोर्ड फर्किएका छन् । यसअघि उनी म्यानचेष्टरको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीमा जाने हल्ला पनि थियो । तर त्यो हल्लाले पुर्णता पाएन ।

ओल्ड ट्राफोर्डमा रहँदा क्लबका लागि तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप, र एक–एक एफए कप अनि फिफा क्लब विश्वकपको उपाधि जितेका रोनाल्डोले आफ्नो स्थानान्तरणलाई म्यानचेष्टर कै पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् ।

रोनाल्डोलाई उनको व्यवसायीक करियरमा स्टार बनाउने श्रेय लिजेण्डरी स्कटिस प्रशिक्षक फर्गुसनलाई नै जान्छ । रोनाल्डोले म्यानचेष्टरमा रहँदा फर्गुसन कै व्यवस्थापकीय जिम्मेवारीमा ती सबै उपाधिहरु जितेका थिए ।

स्रोतका अनुसार रोनाल्डोले आगामी सेप्टेम्बर ११ तारीखका दिन ओल्ड ट्राफोर्डमा हुने न्युक्यास युनाइटेड विरुद्धको खेलमा म्यानचेष्टरका लागि डेब्यु गर्न सक्ने अनुमान गरिएको छ । जुन इन्टरनेशनल ब्रेकलगतै शुरु हुनेछ । हाल रोनाल्डो फिफा विश्वकप छनौट खेलका लागि पोर्चुगलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...