माफी माग्दै आर्सनलबाट अलग भए विलियन

एजेन्सी । चर्चित ब्राजिलियन प्लेमेकर विलियनले आर्सनलमा आशा गरे अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै समर्थकहरुसँग माफी मागेर लण्डन क्लबबाट अलग भएका छन् । स्मरण रहोस, आर्सनलले सोमबार मात्र विलियनसँगको सम्झौता रद्द गरेको थियो ।

आर्सनल छाडे लगतै उनी आफ्नो शुरुवाती ब्राजिलियन क्लब कोरिन्थियन्समा आवद्ध भएका छन् । ३३ बर्षिय विलियनले आफ्नो व्यवसायीक फुटबल करियर कोरिन्थियन्सबाटै शुरु गरेका थिए । सन् २०२० को अगस्तमा आर्सनलका लागि ३ बर्षको सम्झौता गरेका विलियनले क्लबमा खासै गतिलो प्रदर्शन गर्न भने सकेनन् ।

“मेरो करियर भरि उत्कृष्ट बनिरहन म आफ्नो तर्फबाट सधै सक्दो प्रयास गर्ने गर्छु । म सधै जित्न चाहन्छु । यदि त्यसो हुन नसके मलाई निकै असहज लाग्ने गर्छ । दुर्भाग्य मान्नुपर्छ आर्सनलमा मैले राम्रो गर्न सकिन । त्यसका लागि म सबैसँग माफी चाहन्छु ।” विलियनले भनेका छन् ।

आर्सनलमा आवद्ध हुनु अघि चेल्सीमा सात सिजन बिताएका विलियनले ब्लुजका लागि दुई प्रिमियर लिग उपाधिसहित समग्रमा कुल पाँच उपाधि जित्न सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...