पेरिसमा मेसीको डेब्यु खेल आज

एजेन्सी । गत अगस्त १० तारीखका दिन बार्सिलोनासँगको २१ बर्षे सहयात्रा तोड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आज राती रिम्स विरुद्ध पिएसजीका लागि डेब्यु गर्ने भएका छ्न ।

स्मरण रहोस, गत जुलाई ११ तारीखका दिन सम्पन्न कोपा अमेरिकाको फाइनल खेले यता क्लब फुटबलका लागि मेसीसँगै अर्का स्टार नेमार पनि मैदानमा उत्रिएका छैनन् । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजीललाई हराउँदै उपाधि जितेको थियो ।

यता पिएसजीका म्यानेजर मौरिसियो पोचेटिनोले नेमार र मेसीले आज खेल्ने निश्चित रहेको बताइसकेका छन् । त्यस्तै अर्का फ्रेन्च स्टार काइलन एम्बाप्पेले पनि खेल्ने सम्भावना छ ।

हाल एम्बाप्पेको नाम रियल मेड्रिडसँग जोडिएको छ । मेसी पेरिसमा आए यता एम्बाप्पेलाई अनुवन्ध गर्न रियल बढी इच्छुक देखिएको छ । रियलले एम्बाप्पेका लागि पिएसजीसमक्ष प्रस्ताव पनि गरिसकेको छ ।

यी तमाम अडकलबाजीहरुका बावजुद पनि एम्बाप्पेले आज रिम्स विरुद्ध खेल्ने सम्भावना बलियो छ । “उनले क्लबमा अझै कडा अभ्यास गरिरहेका छन् । उनी आज रिम्स विरुद्ध खेल्ने आत्तुर पनि छन् ।” म्यानेजर पोचेटिनोले एम्बाप्पेबारे बोल्दै भनेका छन् ।

त्यस्तै मेसीले पिएसजीमा ३० नम्बर जर्सी लगाउने छन् । जुन उनले बार्सिलोनाका लागि सिनियर डेब्यु गर्दा पहिलोपटक लगाएका थिए ।

फ्रेन्च लिग वानमा पिएसजी अपराजित रहँदै ३ खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको नाइस १० अंकका साथ शिर्ष स्थानमा छ । आज पिएसजीले जित हात पारे पेरिस बेज क्लबले शिर्ष स्थान कब्जा जमाउनेछ ।

पिएसजी र रिम्स विरुद्धको खेल आज नेपाली समय अनुसार मध्यरातको १२ः३० बजेदेखि शुरु हुने क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी समेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...