लेवान्डोस्कीको ह्याट्रिक र ३००औं गोल (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगामा शनिबार राती पोलिस स्ट्राईकर रोबर्ट लेवान्डोस्कीका लागि विशेष रह्यो । बायर्नले हेर्था बर्लिन विरुद्ध ५–० को जित निकाल्दा लेवान्डोस्कीले ह्याट्रिक गरे भने बायर्नका लागि ३०० गोलको आँकडा पनि पूरा गरे ।

त्यति मात्र नभएर उनले जर्मन लिजेण्ड गर्ड मुलरको उक विशेष किर्तिमान पनि तोडे । लेवान्डोस्कीले बर्लिन विरुद्ध गरेको गोलसँगै बायर्नका लागि उनले लगातार १६औं खेलमा गोल गरेर मुलरले यसअघि सन् १९७० मा बनाएको किर्तिमान समेत तोडे ।

उता खेलमा गोलको खाता भने छैटौं मिनटमा थोमस मुलरले खोलेका थिए । लेवान्डोस्कीले ३५औं मिनटमा त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफतर्फ ४९ओं मिनटमा जमल मुसियालाले बायर्नका लागि तेस्रो गोल थप्दा लेवान्डोस्कीले ७० र ८४औं मिनटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीलाई शानदार जित पनि दिलाए ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको बायर्न लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक भए तापनि गोल भिन्नताका आधारमा बायर लेभरकुसेन शिर्ष स्थानमा छ । लेभरकुसेनले शनिबार नै अग्सबर्गमाथि ४–१ को जित निकालेको थियो । त्यस्तै बायर्नसँग पराजित बर्लिन भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...