चेल्सी र लिभरपुलको हेभिवेट भिडन्त रोमाञ्चक बराबरीमा टुंगियो (भिडियोसहित)

एजेन्सी । शुरुवाती अग्रता लिएर पनि दश खेलाडीमा खुम्चिन पुगेको लण्डन क्लब चेल्सीले अर्को दावेदार टोली लिभरपुलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको २२औं मिनटमा चेल्सीले काई हेभर्जको सुन्दर हेड गोलबाट खेलमा अग्रता बनाएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा लिभरपुलले पेनाल्टीको अवसर पायो ।

लिभरपुलका खेलाडीको गोल प्रयास रिसे जेम्सले बक्स भित्र ह्याण्डबल गरेपछि रेडसले भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पेनाल्टीको अवसर पाएको थियो भने ह्याण्डबल गर्ने जेम्सले सोझै रातो कार्डको सामना गर्नुपरेको थियो ।

जुन पेनाल्टीको अवसरलाई मोहमद सलाहले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा चेल्सीमाथि हावी बनेको लिभरपुलले थप गोल गर्न भने सकेन । उता चेल्सीले पनि दोस्रो हाफमा रक्षात्मक खेल्दै विपक्षीको प्रयासलाई निस्तेज पारेको थियो । खेलमा चेल्सीका गोलरक्षक मेन्डीको प्रदर्शन पनि प्रशंसनीय रह्यो ।

यो नतिजासँगगै अपराजित रहेको चेल्सी र लिभरपुल समान ७–७ अंकका साथ लिगतालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । समान अंक भए तापनि गोलभिन्नताका आधारमा वेस्ट ह्याम युनाइटेड शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...