सिटीसँग आर्सनलको लज्जाजनक हार (भिडियोसहित)

एजेन्सी । सिजनको शुरुवातबाटै खराब लयमा रहेको आर्सनलले प्रिमियर लिगतर्फ शनिबार साविक विजेता म्यानचेष्टर सिटीसँग ५–० को लज्जाजनक हार बेहोरेको छ ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा आर्सनल पहिलो हाफ मै दश खेलाडीमा समेटिदा दबाबमा परेको थियो । ३५औं मिनटमा ग्रानिट हाकालाई सोझै रातो कार्ड खाँदै छाडेपछि गनर्स दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

दश खेलाडीमा खुम्चिदासम्म आर्सनल २–० ले पछि परिसकेको थियो । खेलको सातौं मिनटमा इल्काय गुन्डोगनले सिटीका लागि पहिलो गोल गरेका थिए । १२औं मिनटमा फेरान टोरेसले त्यो अग्रता दोब्बर बनाए । ४३औं मिनटमा ग्याब्रियल जिसुसले तेस्रो गोल थप्दा सिटीले खेलमा आफ्नो पकड बनाईसकेको थियो ।

दोस्रो हाफतर्फ ५३औं मिनटमा रोड्रिले सिटीका लागि चौथो गोल गरे भने ८४औं मिनटमा टोरेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै सिटीको शानदार जित पक्का गरेका थिए ।

स्मरण रहोस, सन् १९५४ पछि आर्सनलले प्रिमियर लिगमा पहिलोपटक लगातार शुरुवाती तीन खेलमा हार बेहोर्न पुगेको छ । उता यो जितसँगै सिटी ६ अंकका साथ शिर्ष स्थानमा छ भने पराजित आर्सनल अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...