रियलका लागि बेलको गोल तर पनि बराबरीमा रोकियो (भिडियोसहित)

एजेन्सी । रियल मेडिडका लागि ला लिगामा सन् २०१९ पछि पहिलोपटक गोल गर्न सफल गारेथ बेलले टोलीलाई आइतबार राती जित भने दिलाउन सकेनन् । दश खेलाडीमा खुम्चिएको लेवान्टेसँग रियलले ३–३ को रोमाञ्चक बराबरी खेल्न बाध्य भयो ।

भ्यालेन्सियामा भएको खेलको पाँचौं मिनटमै बेलले रियललाई खेलमा अग्रता दिलाएका थिए । त्यो अग्रता रियलले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफ शुरु भएको पहिलो मिनट मै लेवान्टेका लागि रोजर मार्टीले बराबरी गोल फर्काएका थिए ।

जोसे क्याम्पनाले ५७औं मिनटमा लेवान्टेका लागि दोस्रो गोल गर्दा रियल खेलमा पछि पर्न पुगेको थियो । यद्यपि ७३औं मिनटमा भिनिसियस जुनियरले खेललाई २–२ को बराबरीमा ल्याए । तर त्यसको ६ मिनट लगतै रोबर पियरले लेवान्टेका लागि गोल गरे । यद्यपि त्यो गोलको खुशी पनि लेवान्टेले धेरैबेर मनाउन सकेन ।

८५औं मिनटमा भिनिसियसले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाउन सफल भएका थिए । खेलमा तेस्रो गोल खाएको तीन मिनट लगतै लेवान्टेका एटोर फर्नान्डेजले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा समेटिएको थियो । तर त्यसले खेलको नतिजामा भने असर परेन ।

यो नतिजासँगै २ खेलबाट ४ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको एटलेटिको मेड्रिड शिर्ष स्थानमा छ । उता लेवान्टे भने २ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...