सिटीको फराकिलो जितमा ग्रिलीसको डेब्यु गोल (भिडियोसहित)

एजेन्सी । साविक विजेता म्यानचेष्टर सिटीले इङलिस प्रिमियर लिगमा शनिबार पहिलो जितको स्वाद चाखेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० को फराकिलो अन्तरले हराउँदै सिजनको पहिलो जित हात पारेको हो ।

सिटीको जितमा यसै सिजन एस्टन भिल्लाबाट किर्तिमानी १०० मिलियन पाउण्डमा आवद्ध भएका ज्याक ग्रिलीसले पनि डेब्यु गोल गरे । यद्यपि खेलमा सिटीको गोलाके अग्रता भने आत्मघाती गोलबाट लिएको थियो । खेलको सातौं मिनटमै विपक्षी गोलरक्षक टिम क्रुलले क्लियर गर्न खोजेको बल आत्मघाती गोलमा परिणत भएको थियो ।

२२औं मिनटमा ग्रिलीसले सिटीको त्यो अग्रता दोब्बर पारे । ६४औं मिनटमा एमरिक लापोर्टेले सिटीका लागि तेस्रो गोल गरे भने लगतै ७१औं मिनटमा रहिम स्टर्लिङले चौथो गोल थपेका थिए । त्यस्तै खेल सकिन ६ मिनट बाँकी रहँदा रियाद महरेजले पाँचौं गोल थप्दै सिटीको शानदार जित पक्का गरेका थिए ।

यो जितसँगै २ खेलबाट ३ अंक जोडेको सिटी चौथो स्थानमा छ । स्मरण रहोस, सिटीले सिजननको पहिलो खेलमै गत आइतबार टोटेनह्याम हटसपरसँग स्तब्धपुर्ण हार बेहोर्न पुगेको थियो । त्यसैगरी उता सिटीसँग पराजित हुन पुगेको नर्विच भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...