बायर्नलाई जर्मन सुपर कप (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगा च्याम्पियन र जर्मन कपको विजेता बीच वार्षिक रुपमा आयोजना हुने प्रतिष्ठित जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले किर्तिमानी नवौं पटक जित्न सफल भएको छ । त्यति मात्र नभएर साविक विजेता समेत रहेको बायर्नले उपाधि रक्षा गर्न पनि सफल भएको छ ।

उपाधिका लागि मंगलबार राती भएको भिडन्तमा बायर्नले चिर प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा बायर्नका लागि पोलिस स्टार रोबर्ट लेवान्डोस्कीको नाममा दुई गोल रह्यो ।

लेवान्डोस्कीले ४१औं मिनटमा पहिलो गोलको खाता खोलेका थिए । ४९औं मिनटमा थोमस मुलरले त्यो अग्रता दोब्बर बनाए । यद्यपि ६४औं मिनटमा मार्को रियुसले डर्टमुण्डका लागि गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् ।

गोल खाएको केही मिनट लगतै ७४औं मिनटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो तथा बायर्नका लागि तेस्रो गोल गर्दै साविक विजेताको जित सुनिश्चित गरेका थिए । लेवान्डोस्की खेलको म्यान अफ द म्याच समेत चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...