चेल्सी छाड्दै रोमा पुगे अब्राहम

एजेन्सी । उदियमान इङलिस स्ट्राइकर टेमी अब्राहम चेल्सीबाट इटालियन महारथी एएस रोमामा आवद्ध भएका छन् । २३ बर्षिय अब्राहमको स्थानान्तरणबारे दुवै क्लबले आधिकारिक रुपमै पुष्टी समेत गरेका छन् ।

रिपोर्टअनुसार अब्राहमको स्थानान्तरण मूल्य ३४ मिलियन पाउण्ड रहेको बताइएको छ । उनले रोमामा आइतबार मात्र आफ्नो मेडिकल पनि पूरा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अब्राहमको बाई ब्याक क्लज भने ६८ मिलियन पाउण्ड तोकिएको छ । यद्यपि अब्राहमले रोमामा दुई सिजन पूरा नगर्दासम्म यो क्लज लागु भने हुने छैन । अर्थात् चेल्सीले अब्राहमले फेरि अनुबन्ध गर्न चाहे दुई सिजन पर्खनै पर्नेछ ।

स्मरण रहोस, रोमाको म्यानेजरमा चेल्सीकै पूर्व म्यानेजर जोसे मौरिन्हो रहेका छन् । त्यस्तै चेल्सीले गत साता मात्र आफ्नै पूर्व खेलाडी रोमेलु लुकाकुलाई किर्तिमानी ९७.५ मिलियन पाउण्डमा अनुवन्ध गरेपछि अब्राहमको चेल्सी बसाई थप दोधारमा परेको थियो ।

सात बर्षको उमेरमै चेल्सीमा आवद्ध भएका अब्राहमले चेल्सीका लागि ८२ म्याच खेल्दै ३० गोल समेत गरेका थिए । साथै चेल्सीका लागि खेल्दै उनले सन् २०२०–२१ को सिजनको प्रतिष्ठित च्याम्पियन्स लिग जितेका थिए भने हालै सम्पन्न युइएफए सुपर कप समेत जित्न सफल भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...