मेसी बिना पनि बार्साको उत्कृष्ट शुरुवात (भिडियोसहित)

एजेन्सी । यसै समर आफ्नो २१ बर्षे यात्रालाई पुर्णविराम लगाउँदै पिएसजीमा आवद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी बिनाको बार्सिलोनाले ला लिगामा उत्कृष्ट शुरुवात गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा बार्साले रियल सोसिडाडमाथि ४–२ को प्रभावशाली जित दिर्ता गर्यो । बार्साको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको १९औं मिनटमा जेरार्ड पिकेको गोलबाट बार्साले खेलमा अग्रता लिएको थियो । पहिलो हाफ कै इन्जुरी समयमा ब्रेथवेटले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको ५९औं मिनटमा ब्रेथवेटले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे ।

तर खेलको अन्तिमतिर नाटकीय बन्यो । ८२औं मिनटमा सोसिडाडका लागि जुलेन लोबेटेले पहिलो गोल फर्काए । त्यसको तीन मिनट लगतै मिकेल ओर्जाबलले दोस्रो गोल फर्काउँदै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भएनन् ।

उता अन्तिमतिर बार्सिलोनाका लागि सर्जि रोबर्टोले चौथो गोल गरेपछि क्याटलन जायन्टको प्रभावशाली जित सुनिश्चित बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...