पिएसजीको सहज जित (भिडियोसहित)

एजेन्सी । यस सिजन लियोनल मेसीसहितका स्टार खेलाडीहरुलाई भित्राएर चर्चा कमाइरहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको आफ्नो पहिलो खेलमा सहज जित निकालेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पिएसजीले दश खेलाडीमा खुम्चिएको स्ट्रासबर्गलाई ४–२ को गोल अन्तरले हरायो । खेल शुरु भएको तेस्रो मिनटमै माउरो इकार्डीको गोलबाट पिएसजीले खेलमा अग्रता बनाएको थियो ।

२५औं मिनटमा काइलन एम्बाप्पेले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ मै आक्रमक देखिएको पिएसजीका लागि लगतै २७औं मिनटमा जुलियन ड्रेक्सलरले तेस्रो गोल थपे ।

दोस्रो हाफमा भने स्ट्रासबर्गले खेलमा फर्किने प्रयास गर्यो । ५३औं मिनटमा केभिन गेमिरोले स्ट्रासबर्गका लागि पहिलो गोल फर्काए । त्यस्तै ६४औं मिनटमा लुडोविक एजोर्कीले स्ट्रासबर्गका लागि दोस्रो गोल फर्काउँदा टोलीले खेलमा फर्किने संकेत पनि देखायो ।

तर ८१औं मिनटमा एलेक्जेन्डर जिकुले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिँदा स्ट्रासबर्ग दश खेलाडीमा खुम्चिन पुगेको थियो । त्यसको पाँच मिनट लगतै पाब्लो सरबियाले पिएसजीका लागि चौथो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

मेसी र नेमारलाई आराम

शनिबार रातीको सो खेलमा भर्खरै पेरिस आइपुगेका लियोनल मेसी र नेमारलाई आराम दिइएको थियो । यद्यपि क्लबले मेसीलाई स्ट्रासबर्ग विरुद्धको खेल शुरु हुनु अघि आफ्ना समर्थकहरु माझ सार्वजनिक भने गरेको थियो । सो अवसरमा मेसीसँगै जियानलुईजी डोनारुम्मा, सर्जियो रेमोस, अचरफ हाकिमी जस्ता खेलाडीहर पनि सामेल थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...