दुई दशकपछि चेल्सीले चुमेको सफलता (भिडियोसहित)

एजेन्सी । युरोपको दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा कपको विजेताबीच बार्षिक रुपमा हुने युइएफए सुपर कपको उपाधि लण्डन क्लब चेल्सीले दोस्रोपटक जित्न सफल भएको छ ।

बुधबार राती बेलफास्टमा सम्पन्न उपाधि भिडन्तमा चेल्सीले स्पेनिस क्लब भिल्लारियलमाथि पेनाल्टी शुटआउटमा ६–५ को जित निकाल्दै दुई दशकपछि यो उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

स्मरण रहोस, चेल्सीले यसअघि अन्तिमपटक सन् १९९८ मा यो उपाधि जितेको थियो । त्यसपछि सन् २०१२ र २०१३ मा पनि उपाधिका लागि भिडेको चेल्सीले हारको सामना गरेको थियो ।

उता बुधबार राती निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । खेलमा शुरुवाती अग्रता चेल्सीले नै बनाएको थियो ।

२७औं मिनटमा हाकिम जियचको गोलबाट ब्लुजले खेलमा अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । उता दोस्रो हाफको ७३औं मिनटमा जेरार्ड मोरेनोले भिल्लारियलका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यसपछि थपिएको ३० मिनटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा चेल्सीले जित निकाल्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...