मेसीको पिएसजी स्थानान्तरण पूरा, ३० नम्बर जर्सी लगाउने

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको आफ्नो स्थानान्तरण मंगलबार अबेर राती पूरा गरेका छन् । ३४ बर्षिय मेसीले पिएसजीसँग दुई बर्षका लागि सम्झौता गरेका हुन् । यद्यपि क्लबसँग त्यो सम्झौता लम्ब्याउने विकल्प पनि छ ।

ला लिगाको ‘फाइनान्सियल फेयर प्ले’ नियमका कारण बार्सिलोनाले मेसीसँगको नयाँ सम्झौता नविकरण गर्न नसकेपछि अर्जेन्टिनी सुपरस्टारले बार्सासँगको २१ बर्षे लामो सहयात्रा तोड्न बाध्य भएका थिए । क्लबले गत बिहीबार मात्र आधिकारिक विज्ञप्ती निकाल्दै मेसी क्लबबाट अलग भएको पुष्टी गरेको थियो ।

यता मंगलबार परिवारसहित पेरिस आएका मेसीले सोही दिन आफ्नो मेडिकल पनि पास गरेका थिए । रिपोर्टअनुसार उनले पेरिसमा वार्षिक २५ मिलियन पाउण्ड पारिश्रमिक पाउने छन् । सम्झौतापत्रमा मेसी र क्लबका अध्यक्ष नासेर अल खलिफीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

“मेरो करियरको नयाँ अध्याय शुरु गर्न म निकै आत्तुर छु । यो क्लब अनि क्लबको दृष्टिकोण मेरो लक्ष्यसँग निकै उपयुक्त र मिल्दोजुल्दो छ । यहाँ क्षमतावान खेलाडी र अफिसियलहरु छन् भन्ने मलाई थाहा छ । म उनीहरुसँग मिलेर क्लबलाई थप राम्रो बनाउन लालायित छु । साथै क्लबको घरेलु मैदानमा खेल्न म हतारिएको छु ।”

यस सिजन पिएसजीले प्र्रिm ट्रान्सफरमा किन्ने मेसी चौथो मुख्य खेलाडी

स्मरण रहोस, मेसी पिएसजीले यस समर ट्रान्सफरमा अनुवन्ध गर्ने चौथो मुख्य फ्रि ट्रान्सफर खेलाडी हुन् । यसअघि क्लबले नेदरल्याण्डसका जर्जिनियो विज्नेल्डम, इटालीका चर्चित युवा गोलरक्षक जियानलुईजी डोनारुम्मा र स्पेनिस लिजेण्ड सर्जियो रेमोस रहेका छन् । त्यस्तै क्लबले अर्का महत्वपूर्ण खेलाडी अचरफ हाकिमीलाई पनि अनुवन्ध गरिसकेको छ ।

मेसीले पिएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । जुन उनले बार्सिलोनाका लागि पहिलोपटक डेब्यु गर्दा लगाएका थिए । भनिन्छ, पिएसजीमा आउने भएपछि मेसीलाई नेमारले दश नम्बर जर्सी दिने प्रस्ताव समेत राखेका थिए । तर त्यो प्रस्ताव मेसीले स्वीकार नगरेको बुझिाएको छ ।

मेसीले शनिबार स्ट्रासबर्ग विरुद्ध पिएसजीका लागि डेब्यु गर्न सक्ने बताइएको छ ।

बार्सिलोनामा शानदार छ मेसीको रेकर्ड

१३ बर्षको उमेरमै क्याटलन शहर आएाक मेसीले २१ बर्ष केवल बार्सिलोनामा मात्र बिताए । साथै क्लबका लागि समग्रमा ७७८ म्याच खेल्दै ६७२ गोल गर्न पनि भ्याए ।

क्याटलन क्लबका लागि कुल ३५ ट्रफी जितेका मेसीले प्रतिष्ठित बेलन डि’अर अवार्ड समेत किर्तिमानी ६ पटक जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...