पेरिसमा मेसीको मेडिकल पनि पूरा

एजेन्सी । इन्टरनेशनल फुटबल ट्रान्सफर मार्केटमा ‘हट केक’ बनेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो मेडिकल पूरा गरेका छन् ।

मंगलबार नै परिवारसहित पेरिस आएका ३४ बर्षिय मेसीले पिएसजीसँग दुई बर्षको नयाँ सम्झौता गर्ने बताइएको छ । साथै त्यो सम्झौता दुवै पक्षले आपसी सहमतिमा थप गर्न मिल्ने पनि स्रोतले जनाएको छ ।

पिएसजीसँगको सम्झौतासँगै मेसीले आकर्षक पारिश्रमिक पनि पाउने छन् । रिपोर्टअनुसार मेसीले पर्सि डेस प्रिन्सेसमा वार्षिक रुपमा २५ मिलियन पाउण्ड कमाउने छन् ।

स्रोतका अनुसार पिएसजीसँगको सबै प्रक्रिया पूरा भए तापनि क्लबले मेसीलाई बुधबार मात्र आधिकारिक रुपमा अनुवन्ध गरेको कुरा सार्वजनिक गर्ने बताइएको छ ।

स्मरण रहोस, मेसीले आफ्नो पूर्व क्लब बार्सिलोनासँग २१ बर्षे लामो सहकार्य टुंग्याएका थिए । बार्साले बिहीबार मात्र आधिकारिक विज्ञप्ती जारी गर्दै ला लिगाको आर्थिक र संरचनात्मक नियमका अनुसार मेसीसँग नयाँ सम्झौता गर्न नमिल्ने भन्दै मेसीसँगको सहकार्य तोडेको थियो ।

साथै मेसीको सम्मानमो आइतबार क्याम्प नोउ मै पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । त्यतिबेला मेसीले आफू भावुक हुँदै नचाहेर पनि बार्सिलोना छाड्नु परेको कुरा बताएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...