मेसी पिएसजीमा आवद्ध हुन सहमत, पाउने छन् मोटो रकम

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी दुई बर्षका लागि फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध हुन सहमत भएका छन् । स्काई स्पोर्टसका अनुसार पिएसजीमा आवद्ध भएपछि उनले वार्षिक २५ मिलियन पाउण्डे पारिश्रमिक पाउने छन् । साथै पिएसजीसँग मेसीको सम्झौता थप लम्ब्याउने विकल्प पनि रहनेछ ।

स्मरण रहोस, मेसी र बार्सिलोनाबीचको २१ बर्षे लामो यात्रा बिहीबार आधिकारिक रुपमा समाप्त भएको थियो । त्यतिबेला क्लबले विज्ञप्ती जारी गर्दै ला लिगाको आर्थिक र संरचनात्मक नियममा देखिएको अहसज कठिनाईका कारण मेसीसँग सम्झौता हुन नसकेको घोषणा गरेको थियो ।

त्यतिबेला मेसीले बार्सिलोनासँग आफ्नो सम्झौता थप पाँच बर्षका लागि लम्ब्याउने संघारमा समेत थिए । ६ पल्टका बेलन डि’अर विजेता मेसीले आफ्नो पारिश्रमिकमा ५० प्रतिशत कटौती गरेर भए पनि क्याम्प नोउ मै रहन चाहन्थे । तर अन्तिममा आएर सम्भव हुन सकेन ।

मेसीको पिएसजी स्थानान्तरण पूरा भएपछि उनी बार्सिलोना कै पूर्वटिममेट नेमारसँग फेरि सँगै खेल्ने छन् । स्मरण रहोस, नेमार बार्सिलोनामा रहँदा यी दुईले सँगै दुई ला लिगा, तीन कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

पिएसजीले हालै स्पेनिस लिजेण्ड सर्जियो रेमोस तथा भर्खरै सम्पन्न युरो च्याम्पियनसिपका स्टार गोलरक्षक जियानलुइगी डोना रुम्मा जस्तालाई अनुन्ध गरिसकेको छ । साथै क्लबमा एन्जल डि मारिया, काइलन एम्बाप्पे, मार्किन्होस जस्ता अन्य थुप्रै स्टार खेलाडीहरु पनि सामेल छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...