लेस्टरलाई कम्युनिटी शिल्डको उपाधि (भिडियोसहित)

एजेन्सी । इङलिस फुटबलको नयाँ सिजन शुरुवात गर्ने क्रममा लेस्टर सिटीले प्रतिष्ठित एफए कम्युनिटी शिल्डको उपाधि ऐतिहासिक रुपमा जित्न सफल भएको छ । यो उपाधि लेस्टरले समग्रमा ५० बर्षपछि दोस्रोपटक जित्न सफल भएको हो । यसअघि क्लबले सन् १९७१ मा पहिलोपटक यो उपाधि जितेको थियो ।

शनिबार राती वेम्बली स्टेडियममा सम्पन्न खेलमा लेस्टरले इङलिस च्याम्पियन म्यानचेष्टर सिटीलाई १–० को साँघुरो अन्तरले हरायो । लेस्टरका लागि एक मात्र गोल खेलको अन्तिमतिर ८९औं मिनटमा केलेची लिनाचोले पेनाल्टीबाट गरेका थिए ।

सिटीका नाथन आकेले लेस्टरका खेलाडीलाई बक्स भित्र फल गरेपछि लेस्टरले पेनाल्टीको अवसर पाएको थियो । जसलाई वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लिनाचोले कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भएका थिए ।

स्मरण रहोस, हरेक बर्ष इङलिस फुटबलको नयाँ सिजन शुरु हुनु अघि इङलिस प्रिमियर लिग विजेता र एफए कप विजेताबीच यो कम्युनिटी शिल्ड म्याच हुने गर्दछ । यो उपाधि म्यानचेष्टर युनाइटेडले सर्वाधिक २१ पटक जितेको थियो । गत संस्करण कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...