मेसीले बार्सिलोना छाड्ने, क्लबले गर्यो पुष्टी

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले अन्ततः बार्सिलोना छाड्ने पक्का भएको छ । यो कुराको पुष्टी बार्सिलोनाले आधिकारिक रुपमा समेत गरेको छ ।

स्मरण रहोस, ३४ बर्षिय मेसीको क्लबसँगको सम्झौता गत जुलाई १ तारीखदेखि नै समाप्त भइसकेको थियो । र उनी फ्रि एजेन्ट पनि थिए । यद्यपि मेसीले आफ्नो पारिश्रमिक कटौती गरेर भए पनि बार्सा मै रहन सहमत भएका थिए ।

बार्सिलोना र मेसी दुवै पक्षबीच नयाँ सम्झौता हुने पनि लगभग तय भइसकेको थियो । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुवै पक्षबीच बिहीबार नै नयाँ सम्झौता हुने समेत बताइएको थियो ।

तर, बिहीबार अबेर राती नै बार्सिलोनाले आधिकारिक वक्तव्य निकाल्दै आर्थिक र संरचनात्मक बाधाका कारण मेसीसँग नयाँ सम्झौता गर्न नसकिएको बताएको छ । क्लबले ला लिगाको नियमअनुसार नै आफूहरुले मेसीसँग नयाँ सम्झौता गर्न असमर्थ भएको बताएको छ । साथै क्लबले यसलाई दुर्भाग्यपुर्ण समेत बताएको छ ।

युवा अवस्था मै बार्सिलोना आएका मेसीले समग्रमा २१ बर्ष क्याटलन शहरमा बिताएका छन् । सन् २००० देखि २००३ सम्म बार्सिलोनाको युथ एकेडेमीमा रहेका मेसीले सन् २००३ देखि बार्सिलोना सी, बी हुँदै सिनियर टोलीमा स्थान बनाउँदै आफूलाई अब्बल साबित गरेका थिए ।

बार्सिलोनाका लागि ३० भन्दा बढी उपाधि समेत जितेका मेसीले बार्सा कै लागि खेलेर प्रतिष्ठित बेलन डि’ओर अवार्ड किर्तिमानी ५ पटक जित्न सफल भएका थिए । साथै यस बर्ष पनि यो अवार्डमाथि उनकै दावेदारीता रहने धेरैले अनुमान गरेका छन् ।

मेसीको अबको गन्तव्य?

उमेरले ३४ पुगे तापनि मेसीले हालै अर्जेन्टिनाका लागि आफ्नो कप्तानीमा प्रतिष्ठित कोपा अमेरिकाको उपाधि जिताएका थिए । सिनियर लेभलमा मेसीको देशका लागि पहिलो उपाधि समेत थियो । मेसी अहिले पनि फिट छन् ।

उनलाई धेरै क्लबले आँखा समेत लगाईरहेका छन् । त्यसमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) को नाम अगाडी छ । यद्यपि पिएसजीलाई युभेन्टस, म्यानचेष्टर सिटी, चेल्सी जस्ता क्लबहरुले पनि चुनौति दिन सक्ने छन् ।

उता मेसी आफ्नो बाल्यकालको घरेलु क्लब न्युवेल्स ओल्ड ब्वाईजमै फर्किन सक्ने अडकल पनि काटिएको छ । जे होस, यसपटकको समर ट्रान्सफर मेसी कै कारण थप चर्चित र व्यस्त बन्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...