भिल्ला पार्कमा म्यानचेष्टरको सहज जित (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगको लिगतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आइतबार दश खेलाडीमा खुम्चिन पुगेको एस्टन भिल्लामाथि ३–१ को प्रभावशाली जित हात पारेको छ ।

साथै यो जितसँगै म्यानचेष्टरले शहरी प्रतिद्वन्द्वी तथा लिगलिडर म्यानचेष्टर सिटीलाई लिग उपाधि जित्न थप पर्खनुपर्ने अवस्थामा पुर्याएको छ । त्यति मात्र नभएर रेड डेविल्सले आगामी सिजन च्याम्पियन्स लिगमा सोझै छनौट हुने सम्भावना पनि लगभग पक्का गरेको छ ।

आइतबार भिल्ला पार्कमा गोलको अग्रता भने भिल्लाले नै लिएको थियो । खेलको २४औं मिनटमा बट्र्रेन्ड ट्राओरेले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । जुन अग्रता भिल्लाले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

दोस्रो हाफमा भने उत्कृष्ट पूनःरागमन गरेको म्यानचेष्टरले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ५२औं मिनटमा ब्रुनो फर्नान्डेसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । त्यसको चार मिनट लगतै मेसन ग्रीनवुडले रेड डेविल्सका लागि दोस्रो गोल थपे ।

त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका इडिन्सन कावानीले ८७औं मिनटमा तेस्रो गोल थप्दै पाहुना टोलीको जित पक्का गरेका थिए । तेस्रो गोल खाएको दुई मिनट लगतै भिल्लाका फरवार्ड ओली वाटकिन्सले रातो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली दश खेलाडीमा समेत खुम्चिएको थियो ।

यो जितसँगै ३४ खेलबाट ७० अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा यथावत छ र लिगलिडर सिटी भन्दा १० अंकले पछाडी छ । यद्यपि सिटीले एक खेल बढी समेत खेलेको छ । उता पराजित एस्टन भिल्ला भने ४८ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...