लेवान्डोस्कीको ह्याट्रिकसहित बायर्नको लिग उपाधिको खुशीयाली (भिडियोसहित)

एजेन्सी । शनिबार आफ्नो खेल खेल्नु अघि नै लगातार नवौंपटक बुण्डेसलिगा लिग च्याम्पियन बनेको बायर्नले त्यो लिग उपाधिको खुशीयाली अबेर राती शानदार जितका साथ मनाएको छ ।

खेलमा दश खेलाडीमा खुम्चिएर पनि बायर्नले बोरुसिया मोन्चेनग्लाडबाचलाई ६–० को फराकिलो अन्तरले हरायो । बायर्नको जितमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।

लेवान्डोस्कीले खेलको २, ३४ र ६५औं मिनटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै अन्य तीन खेल भने थोमस मुलर, किंग्स्ले कोमन र लेरोए सानेको नाममा रुह्यो ।

त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका टांगाई नियान्जुले ७५औं मिनटमा रातो कार्ड खाँदै मैदान बाहिरिंदा बायर्न दश खेलाडीमा खुम्चिएको थियो । तर त्यसले लिग च्याम्पियनको जितमा खासै असर भने परेन ।

स्मरण रहोस, शनिबार बायर्नले खेल्नु भन्दा केही घण्टा अघि मात्र उसको निकटतम प्रतिद्वन्द्वी आरबी लिपजिगले बोरुसिया डर्टमुण्डसँग ३–२ को हार बेहोर्दा बायर्न च्याम्पियन बन्ने पक्का भएको थियो ।

शनिबारको नतिजासँगै ३२ खेलबाट ७४ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको लिपजिगको ६४ अंक छ । त्यस्तै बायर्नसँग पराजित भएको मोन्चेग्लाडबाचको ४६ अंक छ र सातौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...