चेल्सीसँगको हारले सिटीलाई अझै पर्खनु पर्ने (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिग उपाधि नजिक पुगिसकेको म्यानचेष्टर सिटीले शनिबार राती चेल्सीसँग २–१ को हार बेहोरेपछि लिग उपाधि उचाल्न अझै पर्खनु पर्ने भएको छ ।

सातौपटक लिग च्याम्पियन जित्ने अभियानमा रहेको सिटीलाई शनिबार चेल्सी बाधक बन्यो । लिग उपाधि उचाल्न सिटीलाई अब केवल तीन अंकको मात्र खाँचो छ । तर त्यहि तीन अंकका लागि सिटीले अर्को खेलसम्म पर्खनु पर्ने भएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलको ४४औं मिनटमा रहिम स्टर्लिङको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पूनःरागमन गर्यो । ६३औं मिनटमा हकिम जियचले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा मार्कोस एलोन्सोले दोस्रो गोल गर्दै ब्लुजको रोमाञ्चक जित पक्का गरे ।

खेलको पहिलो हाफतर्फ इन्जुरी समयमा सिटीले पेनाल्टीको अवसर पनि पाएको थियो । तर अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्वेरोले त्यो पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसक्दा सिटी चुकचुकाउनु परेको थियो ।

शनिबारको त्यो नतिजासँगै हारका बावजुद सिटी ३५ खेलबाट ८० अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता महत्वपुर्ण जित हात पारेको चेल्सी भने ६४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । र दोस्रो स्थानको टोली म्यानचेष्टर युनाइटेड भन्दा तीन अंकले मात्र पछाडी छ ।

स्मरण रहोस, प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनलमा पनि यी दुई टोली भिड्दै छन् । जुन खेल आउँदो ३० मईका दिन टर्कीको राजधानी इस्तानबुलमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...