अन्ततः नविकरण भयो पिएसजीसँग नेमारको सम्झौता

एजेन्सी । लामो अडकलबाजीका बावजुद ब्राजिलियन सुपरस्टार नेमारले आफ्नो वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ सम्झौता गरेका छन् । उनले गरेको नयाँ सम्झौतासँगै २९ बर्षिय यी ब्राजिलियन स्टार आगामी २०२५ को जुन अन्तिमसम्म पेरिस मै रहने पक्का भएको छ ।

स्मरण रहोस, चार बर्ष अघि सन् २०१७ मा नेमार बार्सिलोनाबाट २०० मिलियन पाउण्डको विश्वकिर्तिमानी रकममा पिएसजीमा आवद्ध भएका थिए । पेरिस आए यता उनी खासै खुशी नरहेको र क्लबका समर्थकहरुसँगको सम्बन्धका कारण पनि बढी चर्चामा रहे ।

पिएसजीसँगसँग उनको सम्झौता यहि बर्ष सकिंदै थियो । साथै उनी अन्य क्लब जान सक्ने अनुमान पनि गरिएको थियो । त्यति मात्र नभएर उनी फेरि बार्सिलोना नै फर्किने हल्ला पनि चलेको थियो । तर त्यो हल्ला अब हल्ला मै सिमित हुने भएको छ ।

क्लबसँग नयाँ सम्झौता गरेपछि नेमारले खुशी व्यक्त गरेका छन् । उनले पेरिसमा आएर आफू परिपक्व र पूर्ण व्यक्ति भएको बताएका छन् । साथै क्लबमा आवद्ध भए यता आफूले धेरै सकरात्मक कुराहरु सिकेको समेत बताएका छन् ।

पिएसजीमा आवद्ध भए यता नेमारले क्लबका लागि ११२ म्याच खेल्दै ८५ गोल गरेका छन् भने ५१ एसिस्ट पनि मिलाइदिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...