हारेर पनि युरोपा लिगको फाइनलमा पुग्यो म्यानचेष्टर

एजेन्सी । इङलिस क्लब म्यानचेष्टर युनाइटेड बिहीबार राती हारका बावजुद युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलतर्फको दोस्रो लेगमा म्यानचेष्टरले इटालियन महारथी एएस रोमासँग ३–२ को हार बेहोर्यो । तर समग्रमा ८–५ को अग्रतासहित फाइनलमा स्थान बनाउन सफल भयो । म्यानचेष्टरले पहिलो लेगतर्फ घरेलु मैदान ओल्ड ट्राफोर्डमा निकालेको ६–२ को फराकिलो जित रेड डेविल्सलाई उपाधि नजिक पुर्याउन अहम बनेको थियो ।

बिहीबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने म्यानचेष्टरले नै लिएको थियो । ३९औं मिनटमा इडिन्सन कावानीले पाहुना टोलीका लागि पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो ।

५७औं मिनटमा इडिन जेकोले रोमाका लागि पहिलो गोल फर्काए । त्यसको तीन मिनट लगतै ब्रायन क्रिष्टेन्टले घरेलु टोलीलाई २–१ को स्थितिमा पुर्याए । यद्यपि युनाइटेडका लागि ६८औं मिनटमा कावानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक २–२ को स्थितिमा ल्याए ।

तर खेलको अन्तिमतिर ८३औं मिनटमा एलेक्स टेलेसले आत्मघाती गोल गर्न पुग्दा रेड डेविल्सले ३–२ ले पराजित हुन पुगेको थियो । यद्यपि त्यो हारको नतिजाले पनि म्यानचेष्टरलाई फाइनलमा प्रवेश गर्नबाट भने रोक्न सकेन ।

म्यानचेष्टरले फाइनलमा भिल्लारियलसँग भिड्ने

अब युरोपा लिगको फाइनलमा म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलसँग भिड्ने छ । फाइनल खेल २६ मईका दिन पोल्याण्डको डेन्स्क शहरमा हुनेछ ।

बिहीबार राती नै भएको अर्को सेमिफाइनलतर्फ भिल्लारियलले आर्सनलसँग गोलरहित बराबरी खेल्यो र समग्रमा २–१ को अग्रतासहित फाइनलमा स्थान सुरक्षित गर्यो । पहिलो लेगतर्फ भिल्लारियलको घरेलु मैदानमा आर्सनलले २–१ को हार बेहोर्नु नै गनर्सका लागि महँगो साबित भइदियो ।


प्रतिक्रिया दिनुहोस

Loading...