च्याम्पियन्स लिगको फाइनलमा जुरेको इङलिस भिडन्त

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनलमा दुई इङलिस प्रतिद्वन्द्वी चेल्सी र म्यानचेष्टर सिटी भिड्ने पक्का भएको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनलमा १३ पल्टको विजेता रियल मेड्रिडलाई चेल्सीले ०–२ ले हराउँदै इस्तानबुलमा हुने फाइनलमा सिटीसँगको भेट पक्का गरेको हो ।

सिटीले यसअघि नै गत सिजनको उपविजेता समेत रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पाखा लगाउँदै च्याम्पियन्स लिगको फाइनलमा पहिलोपटक स्थान सुरक्षित गरिसकेको छ । स्मरण रहोस, च्याम्पियन्स लिगको फाइनलमा सिटी र चेल्सीबीचको त्यो पहिलो भेट समेत हुनेछ ।

बुधबार राती चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा ब्लुजले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरेको थियो । खेलको २८औं मिनटमा टिमो वेर्नरले चेल्सीका लागि पहिलो गोल गरेका थिए भने ८५औं मिनटमा मेसन माउण्टले दोस्रो गोल थपेका थिए ।

त्यो जितसँगै चेल्सीले समग्रमा ३–१ को अग्रतासहित फाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । जहाँ चेल्सीलाई महत्वपुर्ण अवे गोलको फाईदा पनि थियो ।

रोचक कुरा त, चेल्सीका म्यानेजर थोमस टुचेलका लागि यो लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ । त्यसअघि उनले गत सिजन मात्र पिएसजीलाई फाइनलमा पु–याएका थिए । त्यतिबेला पिएसजीले बायर्नसँग हार बेहोर्न पुगेको थियो ।

यस सिजनको च्याम्पियन्स लिगको फाइनल आउँदो मई २९ तारीखका दिन टर्कीको राजधानी इस्तानबुलमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...