एम्बाप्पेले आज सिटी विरुद्ध खेल्ने पक्का

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा आज राती म्यानचेष्टर सिटी विरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड काइलन एम्बाप्पेले खेल्ने पक्का भएको छ ।

स्मरण रहोस, २२ बर्षिय एम्बाप्पे शनिबार फ्रेन्च लिग वानतर्फ मेट्ज विरुद्ध खेल्ने क्रममा चोटिल बन्न पुगेका थिए । यद्यपि उनको त्यो चोट सामान्य भएको बताइएको छ । सो खेलमा पिएसजी ३–१ ले विजयी भएको थियो ।

पिएसजीका म्यानेजर मौरिसियो पोचेटिनोले पनि एम्बाप्पे आजको खेलका लागि पुर्ण फिट रहेको बताएका छन् । च्याम्पियन्स लिगमा यस सिजन राम्रो लयमा रहेका एम्बाप्पेले हालसम्म कुल ८ गोल गरिसकेका छन् । उनीभन्दा अगाडी बोरुसिया डर्टमुण्डका इर्लिङ हालण्ड छन् । हालण्डले कुल १० गोल गरेका छन् ।

पिएसजीको घरेलु मैदानमा हुने आजको खेलमा पिएसजीलाई नै बलियो प्रत्याशी मानिएको छ । साथै पिएसजी गत सिजनको फाइनलिस्ट समेत हो । त्यतिबेला फ्रेन्च टोलीले फाइनलमा बायर्नसँग हार बेहोरेको थियो । रोचक कुरा त, पिएसजीले यस सिजन क्वाटरफाइनलमा बायर्नलाई नै हराएर सेमिफाइनल यात्रा तय गर्न सफल भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...