थप खुला र रोमाञ्चक बन्यो ला लिगाको उपाधि होड (रिपोर्ट)

एजेन्सी । स्पेनिस ला लिगातर्फ यस सिजनको लिग उपाधि होड आइतबारका खेलहरुको नतिजासँगै थप रोमाञ्चक र खुला बनेको छ । आइतबार दोस्रो स्थानको टोली बार्सिलोनाले जित हात पार्नु र लिगलिडर एटलेटिको मेड्रिडले हार बेहोर्नुले लिग उपाधि होड थप खुला बन्न पुगेको हो ।

यसअघि शनिबार मात्र दोस्रो स्थानको टोली तथा साविक विजेता रियल मेड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दा रियलको लिग उपाधि जोगाउने सम्भावना कठिन भएको अनुमान गरिएको थियो । यद्यपि आइतबारका खेलहरुको नतिजासँगै लिग उपाधि होड भने थप रोमाञ्चक भइदिएको छ ।

बार्सिलोनाको जित, एटलेटिकोको हार

आइतबार बार्सिलोनाले दश खेलाडीमा खुम्चिएको भिल्लारियलमाथि २–१ को जित निकाल्यो । खेलमा अग्रता भने भिल्लारियलले लिएको थियो । सेमुएल चुकवेजीले २५औं मिनटमा भिल्लाका लागि गोलको खाता खोलेका थिए । तर बार्सिलोनाले पहिलो हाफ मै जवाफ फर्काउन सफल भयो ।

लगतै २८ र ३५औं मिनटमा एन्टोइन ग्रीजम्यानले लगातार दुई गोल गर्दै बार्सिलोनालाई पहिलो हाफ मै जितका लागि प्रर्याप्त दुई गोल गर्न सफल भए । उता दोस्रो हाफतर्फ ६५औं मिनटमा मनु ट्रिग्वेरोसले रातो कार्ड खाँदै मैदान छाड्दा भिल्लारियल दश खेलाडीमा खुम्चिएको थियो । तर त्यसको थप फाईदा बार्सिलोनाले उठाउन भने सकेन ।

आइतबार नै सम्पन्न अर्को खेलमा लिगलिडर एटलेटिको मेड्रिडले एथलेटिक बिल्बाओसँग समान २–१ को हार बेहोर्यो । त्यस्तै चौथो स्थानको टोली सेभियाले ग्रनाडामाथि पनि समान २–१ कै जित निकाल्यो र उपाधि होडमा आफ्नो सम्भावना पनि कायम राख्यो ।

आइतबारका खेलहरुको नतिजापश्चात ३३ खेलबाट ७३ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ । ७१ अंकका साथ रियल मेड्रिड दोस्रो स्थानमा छ भने समान अंक भए तापनि बार्सिलोना तेस्रो स्थानमा छ । यद्यपि बार्साले एक खेल कम खेलेको छ । त्यस्तै ३३ खेलबाट ७० अंक जोडेको सेभिया चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...