लण्डन डर्बीमा चेल्सीका लागि वेर्नर ‘हिरो’ (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार अबेर राती भएको लण्डन डर्बी भिडन्तमा चेल्सीले शहरी प्रतिद्वन्द्वी वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै शिर्ष चारको होडमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा चेल्सीका लागि जर्मन स्टार टिमो वेर्नरले पहिलो हाफको ४३औं मिनटमा एक मात्र निर्णायक गोल गरे । चेल्सीका लागि फेब्रुअरी यता वेर्नरको त्यो पहिलो गोल समेत थियो ।

उता खेलको ८१औं मिनटमा वेस्ट ह्यामका फाबिन बलबुनाले सोझै रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । तर खेलको अन्तिमतिर चेल्सीले त्यसको फाइदा उठाउन भने सकेन ।

यो जितसँगै ३३ खेलबाट ५८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ र पाँचौं स्थानको टोली वेस्ट ह्याम भन्दा ३ अंकले अगाडी छ । साथै तेस्रो स्थानको लेस्टर भन्दा एक अंकले मात्र पछि छ । यद्यपि लेस्टरले चेल्सीले भन्दा एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...