शिर्ष स्थानमा उक्लियो पिएसजी (भिडियोसहित)

एजेन्सी । फ्रेन्च स्टार काइलन एम्बाप्पे एक्लैले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसज)ि ले मेट्जमाथि ३–१ को जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।

खेल शुरु भएको चौथो मिनटमै एम्बाप्पेले टोलीका लागि गोलको पहिलो खाता खोलेका थिए । त्यो अग्रता पिएसजीले पहिलो हाफसम्म मात्र कायम राख्यो ।

उता दोस्रो हाफ शुरु भएको पहिलो मिनटमै फाबिन सेन्टोन्जेले मेट्जका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भएका थिए । तर मेट्जले पनि बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।

५९औं मिनटमा एम्बाप्पेले पिएसजीलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका माउरो इकार्डीले ८९औं मिनटमा पेनाल्टीबाट पिएसजीका लागि तेस्रो गोल थप्दै टोलीको जित पक्का गरेका थिए ।

यो जितसँगै ३४ खेलबाट ७२ अंक जोडेको पिएसजीले लिलेलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । यद्यपि ७० अंक रहेको लिलेले एक खेल कम खेलेको छ । र आइतबार लियोनलाई हराउन सके लिले फेरि शिर्ष स्थानमा उक्लिनेछ ।

त्यस्तै पिएसजीसँग हार्न पुगेको मेट्ज भने ४३ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...