मेसीले दुई गोल गर्दा बार्साको सहज जित (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोल गरेको खेलमा स्पेनिस ला लिगातर्फ बार्सिलोनाले गेटाफेमाथि ५–२ को प्रभावशाली जित हात पारेको छ ।

बार्साको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको आठौं मिनटमै मेसीले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए । तर त्यसको चार मिनट लगतै क्लिमेन्ट लेंगलेटले आत्मघाती गोल गर्दा गेटाफेले खेल १–१ को बराबरीमा ल्याउन सफल भएको थियो ।

यद्यपि २८औं मिनटमा गेटाफेका रोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले खेलमा फेरि अग्रता लिएको थियो । लगतै ३३औं मिनटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ को स्थितिमा पु–याए ।

दोस्रो हाफको ६९औं मिनटमा इनेस उनाईले पेनाल्टीबाट गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । ८७औं मिनटमा रोनाल्ड आरजोले बार्सिलोनाका लागि चौथो गोल थपे भने इन्जुरी समयको ९०+३औं मिनटमा एन्टोइन ग्रीजम्यानले पेनाल्टीबाट पाँचौं गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र एक खेल बढी खेलेको दोस्रो स्थानको टोली रियल मेड्रिड भन्दा २ अंकले मात्र पछाडी छ । त्यस्तै बिहीबार राती बार्सिलोनासँग पराजित भएको गेटाफे ३२ खेलबाट ३१ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...