फ्लिकको निर्णयप्रति बायर्न असन्तुष्ट

एजेन्सी । जर्मन जायन्ट बायर्न म्युनिखका म्यानेजर हान्सी फ्लिकले यसै सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेको निर्णयप्रति बायर्न म्युनिखले भने असन्तुष्टी व्यक्त गरेको छ ।

स्मरण रहोस, ५६ बर्षिय फ्लिकले शनिबार वुल्फ्सबर्ग विरुद्ध बायर्ननले ३–२ को जित निकालेपछि सार्वजनिक रुपमै सिजनको समापन लगतै क्लब छाड्ने निर्णय गरेको कुरा बताएका थिए ।

भनिन्छ, केही दिन अघि मात्र च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ साविक विजेता बायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित हुन पुगेपछि फ्लिक निराश थिए ।

स्रोतका अनुसार फ्लिकले क्लब छाड्न चाहेको कुरा क्लबको बोर्ड सदस्यहरुलाई पनि बताइसकेका छन् । यद्यपि क्लबको बोर्डले भने फ्लिकले तत्काल क्लब नछोडुन भन्ने चाहना रहेको बताइएको छ ।

स्मरण रहोस, दुई बर्ष अघि बायर्नको अन्तरिम प्रशिक्षक हुँदै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका फ्लिकले क्लबका लागि बुण्डेसलिगा, जर्मन कप, जर्मन सुपर कप, युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि समेत जितेका छन् ।

क्लबसँग उनको सम्झौता सन् २०२३ सम्मको छ । यद्यपि उनले क्लब छाड्नुको ठोस कारण भने बुझिएको छैन । गोल डटकमका अनुसार फ्लिकले बायर्न छाडेर जर्मन राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको पनि बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...