पिएसजीको नाटकीय जित (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानतर्फ आइतबार नाटकीय जित हात पार्ने क्रममा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सेन्ट इटिनीमाथि ३–२ को जित दर्ता गरेको छ ।

खेलमा दुवैतर्फबाट भएका गोलहरु ७० मिनटपछि सम्भव भएका थिए । खेलको ७७औं मिनटमा डेनिस बोआंगाले सेन्ट इटिनीका लागि सनसनीपूर्ण शुरुवाती गोल गरेका थिए । यद्यपि त्यसको दुई मिनट लगतै काइलन एम्बाप्पेले पिएसजीका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेलको ८७औं मिनटमा पेनाल्टीबाट एम्बाप्पेले नै दोस्रो गोल थपे । तर इन्जुरी समयको ९२औं मिनटमा रोमेन हमुमाले सेन्ट इटिनीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । तर पनि सेन्ट इटिनीले खेललाई आफू अनुकुल रुपमा सम्पन्न गर्न सकेन ।

दोस्रो बराबरी गोल खाएको तीन मिनट लगतै माउरो इकार्डीले पिएसजीका लागि तेस्रो गोल गर्दै टोलीलाई नाटकीय जित दिलाएका थिए । यो जितसँगै ३३ खेलबाट ६९ अंक जोडेको पिएसजी लिगतालिकाको दोस्रो स्थानमा छ र लिगलिडर लिले भन्दा एक अंकले मात्र पछाडी छ । उता पराजित सेन्ट इटिनी भने ३९ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...