बायर्नलाई सात अंकको अग्रता (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा भने आफ्नो दबदबालाई कायम राखेको छ ।

शनिबार भएको खेलमा बायर्नले तेस्रो स्थानको टोली वुल्फ्सबर्गमाथि ३–२ को जित निकाल्यो र लिगतालिकामा सात अंकको स्पष्ट अग्रता बनाउन पनि सफल भयो ।

बायर्नको जितमा जमल मुसियालाले दुई गोल गरे । खेल शुरु भएको १५औं मिनटमै उनले बायर्नका लागि गोलको खाता खोलेका थिए । २४औं मिनटमा चुपो मोटिङले बायर्नको त्यो अग्रता दोब्बर पारे ।

उता ३५औं मिनटमा वुल्फ्सबर्गका लागि वुट वेगहस्र्टले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसको दुई मिनट लगतै मुसियालाले बायर्नका लागि तेस्रो गोल थपे । दोस्रो हाफको ५४औं मिनटमा वुल्फ्सबर्गका लागि म्याक्सी मिलियन फिलिपले दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै २९ खेलबाट ६८ अंक जोडेको बायर्न लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली आरबी लिपजिग भन्दा सात अंकले अगाडी समेत छ । उता पराजित वुल्फ्सबर्ग भने ५४ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...