रेलिगेशन क्षेत्रबाट टाढिदै न्युक्यासल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार भएको पहिलो खेलमा न्युक्यासल युनाइटेडले रोमाञ्चक जित हात पार्दै रेलिगेशन क्षेत्रबाट थप टाढिन सफल भएको छ ।

शनिबारको प्रतिस्पर्धात्मक खेलमा न्युक्यासलले वेस्ट ह्याम युनाइटेडलाई नाटकीय रुपमा ३–२ ले हरायो र रेलिगेशन क्षेत्रको खतराबाट टाढिन पनि सफल भयो ।

खेलको ३६औं मिनटमा इसो डियोपले आत्मघाती गोल गर्दा न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । लगतै वेस्ट ह्यामका क्रेग डवसनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली पहिलो हाफ मै दश खेलाडीमा खुम्चिन पुगेको थियो ।

४१औं मिनटमा न्युक्यासलका लागि जोएलिन्टनले दोस्रो गोल थपे । यद्यपि दोस्रो हाफमा भने वेस्ट ह्याम खेलमा फर्किन सफल भएको थियो । ७३औं मिनटमा इसो डियोपले ह्यामरका लागि पहिलो गोल गरे । त्यसको सात मिनट पछि जेसे लिंगार्डले पेनाल्टीबाट दोस्रो गोल थप्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर वेस्ट ह्यामले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । दोस्रो बराबरी गोल खाएको तीन मिनट लगतै जोए विलकले न्युक्यासलका लागि तेस्रो गोल थपे जुन निर्णायक गोल पनि बन्यो ।

यो जितसँगै ३२ खेलबाट ३५ अंक जोडेको न्युक्यासल १५औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली फुलह्याम भन्दा ९ अंकले अगाडी छ । उता पराजित वेस्ट ह्याम भने ५५ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...