केनको दुई गोलले जोगियो टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस स्टार हेरी केनले दुई गोल गरेपछि इङलिस प्रिमियर लिगमा शुक्रबार राती सम्पन्न एक मात्र खेलमा टोटेनह्याम हटसपरले इभर्टनसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा अग्रता पनि टोटेनह्यामले बनाएको थियो । २७औं मिनटमा केनले पहिलो गोल गर्दा टोटेनह्यामले खेलमा गति लिएको थियो ।

तर त्यसको चार मिनट लगतै जिल्फी सिगुर्डसनले पेनाल्टीबाट इभर्टनका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । पहिलो हाफमा दुवै टोलीले १–१ को बराबरी खेले भने दोस्रो हाफमा इभर्टनले अग्रता लिएको थियो ।

६२औं मिनटमा सिगुर्डसनले नै घरेलु टोलीका लागि दोस्रो गोल थपे । तर इभर्टनले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । त्यसको ६ मिनट लगतै केनले टोटेनह्यामका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

यो बराबरी नतिजासँगै ३२ खेलबाट ५० अंक जोडेको टोटेनह्याम लिगतालिकाको सातौं स्थानमा छ । उता एक खेल कम खेलेको इभर्टन भने ४९ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...