शिर्ष चारको होडमा चेल्सीको पकड (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती लण्डन डर्बीका रुपमा रहेको भिडन्तमा चेल्सीले शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ४–१ ले हराउँदै लिगतालिकाको शिर्ष चारमा आफ्नो पकड बनाएको छ ।

प्यालेसको घरेलु मैदानमा सम्पन्न सो खेलमा चेल्सीका लागि अमेरिकी स्टार क्रिष्टियन पुलिसिकले दुई गोल गरे । यद्यपि खेलमा चेल्सीका लागि गोलको खाता भने आठौं मिनटमा काइ हेभर्जले खोलेका थिए ।

त्यसको दुई मिनट लगतै पुलिसिकले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ मै तीन गोल गरेको चेल्सीका लागि तेस्रो गोल भने ३०औं मिनटमा कर्ट जुमाले गरेका थिए ।

उता दोस्रो हाफको ६३औं मिनटमा क्रिष्टियन बेनटेकेले प्यालेसका लागि एक गोल फर्काए र घरेलु टोलीलाई लयमा फर्काउने प्रयास पनि गरे । तर सफल भएनन् । चेल्सीका लागि ७८औं मिनटमा पुलिसिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल थप्दै ब्लुजको शानदार जित पक्का गरे ।

यो जितसँगै ३१ खेलबाट ५४ अंक जोडेको चौथो स्थानमा उक्लिएको छ । र तेस्रो स्थानको लेस्टर सिटीभन्दा २ अंकले मात्र पछाडी छ । तर लेस्टरले चेल्सीले भन्दा एक खेल कम खेलेको छ । उता पराजित प्यालेस भने ३८ अंकका साथ १३औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...